देश विदेश

आईईई विपरित नदीजन्य पदार्थको ठेक्का सम्झौता

शेयर गर्नुहोस्

वीरेन्द्रनगर नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन विपरित नदीजन्य पदार्थको ठेक्का सम्झौता गरेको पाइएको छ । झुप्राखोला, गिरीघाट र भेरी नदी किनार क्षेत्रको वातावरणीय परीक्षणमा चालू आर्थिक वर्षका लागि ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने उल्लेख छ । पुस मसान्तसम्म अमानतमा ६४ हजार ९१ घनमिटर संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार ३७.६० घनमिटर नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएको छ ।

राजस्व उपशाखा प्रमुख देव मुलेलका अनुसार माघ १५ गते रोयल विल्डर्सलाई ३६ हजार घनमिटर नदीजन्य पदार्थ संकलनका लागि एक करोड ६० लाख ६० हजारमा ठेक्का दिइएको छ । ‘झुप्राखोला, गिरीघाट र भेरी नदी किनारबाट पुस मसान्तसम्म ६४ हजार ९१.५ घनमिटर नदीजन्य पदार्थ संकलन भएको राजस्व संकलनले देखाउँछ,’ मुलेलले भने, ‘आईईई प्रतिवेदनमा भने ६० हजार ४६ घनमिटर मात्रै उठाउन मिल्ने उल्लेख छ ।’

माघ एक गतेदेखि १५ गतेसम्म कति परिणाममा नदीजन्य पदार्थ अमानतमा संकलन भयो त्यसको तथ्याङ्क नगरपालिकाले दिएको छैन् । ‘ठेक्का संझौता भएपछि माघ १५ गतेदेखि रोयल बिल्र्डसले नदीजन्य पदार्थहरु उत्खनन् गरिरहेको छ,’ उनले भने, ‘माघ एकदेखि १५ गतेसम्मको तथ्याङ्क नगरपालिकामा आइसकेको छैन् ।’

आफैले आईईईले तोकेको परिणाम भन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार घनमिटर संकलनका लागि ठेक्का दिएको छ । नगरपालिकाले माघ दुई गते वडा नं. १४ का अध्यक्ष टोपबहादुर दर्लामीको संयोजकत्वमा छ सदस्यीय नदीजन्य पदार्थको मौज्दात यकिन समिति गठन गरेको थियो । सो समितिले दिएको प्रतिवेदनका आधारमा ठेक्का संझौता गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

‘झुप्रा खोला भेरी नदी क्षेत्रमा आईईईले निर्दिष्ट गरेको ठाउँका लागि उल्लेखित स्थानहरुबाट हालसम्म करिव ४२ प्रतिशत नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भएको पाइयो,’ अनुगमन समितिको प्रतिवेदनमा भनिएको छ, ‘बचत परिणाम हेर्दा बोल्डर गिट्टी, बालुवा, माटो र केही मात्रामा ठूला ढुंगा मौज्दात देखिन्छ ।’ यस्तै गिरीघाट भेरीखोला क्षेत्रकने स्थल–१ बाट १५ प्रतिशत र स्थल–२ बाट ८० प्रतिशत नदीजन्य पदार्थ निकासी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले आईईईले तोकेको स्थानभन्दा बाहिरबाट र केही अन्य पालिकाबाट ल्याइएको नदीजन्य पदार्थको पनि नगरपालिकाले रसिद काटेको बताए । ‘अनुगमन समिति गठन गरेर उसैको प्रतिवेदनका आधारमा हामीले ठेक्का संझौता गरेका हौं,’ उनले भने, ‘हेर्दा आईईई प्रतिवेदन भन्दा धेरै निकासी भएको देखिएपनि मौज्दात बाँकीनै रहेकाले ठेक्का लगाएका हौं ।’

अमानतमा उठाउँदा ५५ लाख राजस्व गुम्यो

अमानतमा नदीजन्य पदार्थ संकलन गरेपनि नगरपालिकाले ६० हजार ४६ घनमिटरकै ठेक्का आव्हान गरेको थियो । उक्त परिणाम संकलन र निकासीका लागि रोयल बिल्डर्सले तीन करोड १ लाखमा ठेक्का सकार गरेको थियो । आईईई प्रतिवेदनभन्दा ३६ हजारबढी घनमिटर नदीजन्य पदार्थ संकलन गर्दा पनि नगरपालिकालाई ५५ लाख बढी घाटा भएको छ । नगरपालिकाले अमानतमा नदीजन्य पदार्थवापत पुस मसान्तसम्म ६४ लाख ९१ हजार पाँच सय राजस्व संकलन गरेको छ ।  

आईईई विपरित संकलन अनुमति दिइएको ३६ हजार २७ घनमिटरवापत संकलनकर्ताले एक करोड ८० लाख ६० हजार रुपैयाँ दिनेछ । ‘नगरपालिकाले अमानतमा नउठाएर ठेक्का दिएको भए तीन करोड १ लाख रुपैयाँ राजस्व जम्मा हुन्थ्यो, आईईई प्रतिवेदनभन्दा धेरै उठाउनु पर्ने बाध्यता पनि हुन्थेन्,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘नेतृत्वको कमजोरीका कारण ५५ लाख ४८ हजार पाँच सय रुपैयाँ नगरपालिकाको आम्दानी गुम्यो ।’ 

प्रकाशित: २८ माघ २०७७ १६:३४ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *