देश विदेश

म्यान्मार कू: सेना विरुद्ध याङ्गुनमा प्रदर्शन, सवारी आवागमन ठप्प

शेयर गर्नुहोस्

बी.बी.सी. । फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन्।

याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएको बताइएको छ।

प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची सहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन्।

सू ची माथि मङ्गलवार नयाँ आपराधिक अभियोग लगाइएको थियो।

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्‍याएको छ तर कैयौँ प्रदर्शनकारीहरूले भने संशय व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको म्यान्मारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरू अघि आएका छन्।

बुधवार म्यान्मारमा ठूला अप्रिय घटना नघटेको विवरण प्राप्त भए पनि सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ।

प्राप्त विवरण अनुसार प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए।

रेलवेका कर्मचारीहरूले भने आफूहरूलाई बन्दुक ताकेर अघि बढ्न बाध्य पारिएको बताएका छन्।

म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन्। राजधानी नेपिद्‌अमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका थिए।

बुधवार आयोजना गरिएका प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्थालाई लगभग निष्क्रिय पारिदिएको थियो।

सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो।

सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

“रोड ब्लकिङ् डे” भनिएको विरोध कार्यक्रमका क्रममा सवारी साधनका बोनट खोलिएको र ठाउँ ठाउँमा गाडी तेर्साएको देख्न सकिन्छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *